२६ जुन २००८ काठमाडौं। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले
संविधानसभाको बैठकबाट प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ। व्यवस्थापिका
संसद्को हैसियतमा आज बसेको संविधानसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री
कोइरालाले संवैधानिक प्रावधानअनुरुप राजीनामा दिने घोषणा गर्नुभयो।
संविधानसभाको बैठक नै सबै समस्याको समाधान गर्ने स्थान भएको भन्दै
उहाँले आफूले पदत्याग गरेको घोषणा गर्नुभएको हो।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वर्तमान राजनीतिक अन्यौलताको
अन्त्य गर्न दलहरुले सहकार्य सहमति र एकताको बाटोमा अगाडि बढुनपर्ने
बताउनुभएको छ।
प्रधानमन्त्री कोइरालाले दलहरुबीचको सहमति, सहकार्य र एकताको
बाटोबाटै संविधानसभाको निर्वाचन सफल भएको बताउनुभयो। सहमतिकै कारण
गणतन्त्र घोषणा भएर राजा राजदबार छोडेर अन्तै गएर बसेको र राजदरबार
संग्रहालयमा परिणत भएको उहाँले बताउनुभयो।
दलहरुबीचको अन्यौलको स्थितिले कन्फ्युजन बढाएको भन्दै पत्रकारहरु
पनि कन्फ्युज भएर समाचारमा कन्फ्युजन बढाएपछि राज्य पनि कन्फ्युजमा
परेको उहाँले बताउनुभयो।
यसका कारण अन्तर्राष्ट्रिय समुदायमा समेत कन्फ्युजन बढेको भन्दै
उहाँले यसको समाधानका लागि जुन बाटोबाट यहाँसम्म आएका हौं त्यही
बाटो समाउनुपर्नेमा जोड दिनुभयो।
राजनीतिक दलहरुबीचको एकता र सहकार्यको प्रवृत्तिका कारण नै अन्तर्राष्ट्रिय
समुदायले नेपाललाई आदर सत्कार गरेको स्मरण गर्दै उहाँले दलहरुले
गलत बाटो अपनाएमा नेपालको अस्तित्वमाथि नै खतरा पर्न जाने
बताउनुभयो।
राजनीतिक दलका नेताहरुसहित आफू पनि यो बाटोबाट भौंतारिएको उल्लेख
गर्दै उहाँले नेपाली जनताले भोगेको पीडा पोख्ने ठाउँ खोज्दै आज
संसद् भवनमा आएको बताउनुभयो। सबैको समस्या समाधान हुने थलो भनेको
संविधानसभाको बैठक नै भएको भन्दै उहाँले आफूमा भएको पीडालाई पनि
यही सदनमा बिसाउने उल्लेख गर्नुभयो।
प्रधानमन्त्री पद त्याग गरिसकेपछि प्रधानमन्त्री कोइरालाले सबै
दलहरुलाई सहमति र सहकार्यको राजनीति नछाड्न पनि आग्रह गर्नुभयो। उहाँले
आफू खास निर्णय गरेर आएकोले आफू चिन्तामुक्त भएको पनि बताउनुभयो।
|