३
जुलाई २००८ काठमाडौं । मधेशवादी दलको माग सम्बोधन गर्न
संविधान संशोधनका लागि पूरक प्रस्तावको ड्राफ्ट तयार गर्नेबारे
दलहरु निष्कर्षमा पुग्न सकेनन् । १८ असारमा तीन दलका शिर्ष नेताबीच
बालुवाटारमा बैठक भएपनि एमाले र माओवादीको नेपाली कांग्रेससंग कुरा
मिल्न सकेन ।
माओवादी र एमालेले मधेश अनेक प्रदेशको प्रस्तावमा सहमति जनाउन
सकिने तर एक मधेश एक प्रदेशलाई संशोधन प्रस्तावमा समावेश गर्न
नसकिने अडान प्रस्तुत गरे । कांग्रेस मधेशवादीको मागलाई विगतमा
भएको सम्झौताअनुसार संविधान संशोधनमा ल्याउन सकारात्मक देखियो ।
तीन दल आ आफ्नो अडानबाट डेग नचलेपछि प्रस्ताव लगी मतदानबाट टुंगो
लगाउने दिशामा बढेका छन् ।
स्रोतका
अनुसार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मधेशवादीलाई मान्य
हुनेगरी सहमतिमा जाने बताए । उनले सबैलाई सहमतिमा ल्याएर अगाडि बढ्नुपर्ने
भन्दै बीचको बाटो खोज्नुपर्नेमा जोड दिए । उनले मधेशसंग विगतमा
भएको सम्झौता पूरा गर्न आफू तत्पर रहेको बताएका थिए ।
बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद
कोइराला, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एमालेका महासचिव झलनाथ
खनाललगायत तीन दलका प्रभावशाली नेता सहभागी थिए ।
भोलि
सहमतिको अन्तिम प्रयास गर्ने र त्यसमा सफलता हात नलागे मतदान प्रक्रियामा
जाने बुझिएको छ । यता मधेशवादी दलले आफूहरुको माग पूरा नभए
संविधानसभा बैठक चल्न नदिने बताउदै आएका छन् ।
|