काठमाडौं। संविधानसभाको दोस्रो बैठक आज बस्दैछ।
आजको बैठकले संविधानसभा सञ्चालन नियमावली मस्यौदा तयार गर्ने
बताइएको छ।
अरु मुख्य विषयमा दलहरुबीच अझैसम्म सहमति बन्न नसकेकाले आजको बैठक
औपचारिकतामै सिमित हुने देखिएको छ।
संविधानसभा बैठकका कार्यसूचीबारे प्रमुख तीन दलबीच हिजो अबेरसम्म
छलफल भए पनि सहमति बन्न नकसेपछि आजको संविधानसभाको बैठक
औपचारिकतामै सीमित हुने भएको हो। यसअघि बस्ने भनिएको २५ दलका प्रतिनिधि
संलग्न बैठक पनि माओवादीको अनुपस्थितिका कारण बस्न सकेको थिएन।
दलहरुबीच थप गृहकार्य आवश्यक भएको भन्दै संविधानसभाको अर्को बैठक
जेठ २८ गते बस्ने दलहरुले सहमति गरिसकेका छन्।
सरकार गठन, संविधान सभाध्यक्ष, उपाध्यक्ष चयन, राष्ट्रपति उपराष्ट्रपति
चयन, प्रधानमन्त्री चयनलगायतका विषयमा दलहरुबीच सहमति हुन सकेको
छैन। संविधानसभा बैठकको तयारीका लागि बस्ने कार्य व्यवस्था परामर्श
समितिसमेत अझैसम्म बन्न सकेको छैन।
संविधानसभा वा संसद्को बैठक बस्नुअघि बैठकको कार्यसूची र सञ्चालन
प्रक्रियाका विषयमा अध्यक्षले परामर्श गर्ने चलन छ ।
|