६ जुलाई २००८ काठमाडौं । मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र
यादवले आफूहरु सरकारमा सहभागी नहुने बताएका छन्। रिपोर्टर्स क्लब
नेपालको साक्षात्कारमा बोल्दै उनले विगतमा भएको सम्झौतालाई समेत
कार्यान्वयन गर्ननसक्ने दलहरुसंग सरकारमा बस्नुको कुनै औचित्य
नभएको बताए।
'मधेशी जनअधिकार फोरम सरकारमा जादैन,' यादवले भने, 'हिजो मधेशको
माग सम्बोधन गर्ने नाममा गरिएको निर्णयले सरकारमा जाने सबै ढोका बन्द
भएको छ।' आफूहरु कुनै पदको पछाडि नलाग्ने भन्दै सडक र सदन दुवैबाट
मधेशको माग सम्बोधनका लागि संघर्ष गर्ने चेतावनी दिए। सरकारले हिजो
गरेको निर्णय विगतमा आफूहरुसंग गरेको सिम्झौताको विरुद्ध भएको उनको
भनाई थियो। उनले भने, 'आफैले गरेको सम्झौतालाई समेत रड्डीको
टोकरीमा फाल्ने सरकारको कुनै विश्वास छैन।' मधेशी जनताले राज्यलाई
विश्वास गर्न नसक्ने बताए। देशमा तीन दलको हैकमवाद देखिएको भन्दै
त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिए। उनले आफूहरु शक्तिबांडफांडको
मद्दामा नअल्झने बताए। पदका लागि दलहरु राष्ट्रलाई नै धरापमा
पारिरहेको आरोप लगाए। पछिल्लो निर्णयले नेकपा माओवादी, नेपाली कांग्रेस
र नेकपा एमाले मधेशका सवालमा उस्तै हुन् भन्ने देखाएको बताए।
एमालेले केही थारुहरुलाई मधेशविरुद्ध उचालेको आरोप लगाए। थारुहरुको
गतिविधि आफै सेलाएर जाने उनको भनाई थियो।
नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्य किरणले नयां सरकार गठन
भएपछि मात्र मधेशको माग सम्बोधन गर्ने ढोका खुल्ने बताए।
संविधानसभाको बैठक अवरुद्ध गरेर नयां सरकार बनाउन अवरोध गर्दा
मधेशवादीहरुलाई घाटा परिरहेको बताए। उनले भने,'जति छिटो नयां सरकार
बन्छ उति छिटो मधेशको माग सम्बोधन हुन्छ।' सरकारले हिजो मधेशको
माग सम्बोधनका लागि पूरक संविधान संशोधन प्रस्ताव ल्याउने निर्णय
गर्नुलाई सकारात्मक भन्दै मधेशवादीले त्यसको सम्मान गरेर अगाडि बढ्नुपर्नेमा
जोड दिए। नयां संविधान निर्माण गर्दा मधेशको मागबारे छलफल गरेर
टुंगोमा पुग्न सकिने बताए। मेधशवादी दललाई माओवादीको नेतृत्वको
सरकारमा सहभागी हुन आग्रह गरे। उनले सहमति र सहकार्यबाटै नयां
संविधान बनाउन ढिलाई गर्न नहुने बताए।
माओवादीलाई सरकारमा जान नदिन षड्यन्त्र भइरहेको बताए। अन्तराष्ट्रिय
शक्तिकेन्द्रहरु विभिन्न रुपमा माओवादीविरुद्ध लागेको उनको आरोप
थियो। राष्ट्रपति कसलाई बनाउने भन्नेबारे वृहत छलफल आवश्यक भएको
बताए। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति मान्न
नसकिने उनको भनाई थियो। माधवकुमार नेपालको नामबारे कुनै सहमति
नभएको तर त्यसबारे छलफल गर्न सकिने बताए। ।
|